काठमाडौं- सरकारले विदेशमा चिकित्सा शिक्षाका स्नातक तह पढ्न गएका विद्यार्थी अप्ठ्यारो परेका बेलामा नेपालमै अध्ययन गर्न पाउने सैद्धान्तिक सहमति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा चीनलगायतका मुलुकमा भर्ना भएका नेपाली विद्यार्थीलाई नेपालमै पढ्न पाउने गरी सैद्धान्तिक स्वीकृती दिएको हो।
मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सरकारको यो निर्णयसँगै कोभिड-१९ को महामारी कारण देखाउँदैं चीनलगायत विभिन्न देशमा भर्ना भएका तर जान नसकेका विद्यार्थीहरुले नेपालमै बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप नेपालमै गर्ने बाटो खुलेको छ।
सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो।