भक्तपुर- कोरोना भाइरसको संक्रमणका कारण कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन्।
नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका हुन्।
नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका– ७(गुण्डु) र ८(सिपाडोल)को सङ्गमस्थल ऐतिहासिक रानीकोटमा सबै होटल आन्तरिक पर्यटकले नै भरिएका छन्।
यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको आज बिहान भीड थियो। रातभर नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउनै मुश्किल थियो।
उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटक नै पुगेका छन्। हिजो बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्न पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो।
हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यवसायी उत्साहित भएका छन्।
समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यकालगायत विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ।
यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकें बताउछन्।
सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्गले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको छ भन्दै उनि कोरोना भाइरसको महामारीमा पनि नयाँ वर्ष २०२१ को उत्साह र उमङ्ग स्वदेशी पर्यटकले नै थपेकोे बताउछन्।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा भएको भीडले पर्यटन व्यवसायीका लागि ऊर्जा र उत्साह बढेको चर्चा गर्दै व्यवसायी बकें भन्छन्, “रानीकोट ऐतिहासिकरुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, बाह्रै महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयको रसास्वादनका लागि नयाँ वर्षका अवसरमा त झन पर्यटक खचाखच हुँदै आएको थियो। कोरोनाले ठप्प बनेको होटल व्यवसाय पछिल्लो केही महिनादेखि चलायमान हुँदै थियो, अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसायमा पुनःआशा पलाएको छ।” रासस