काठमाडौं- काठमाडौं धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटलले अनुहारको आकृति मिलाउने शल्यक्रिया (अर्थोग्न्याथिक सर्जरी) थालेको छ। केही सरकारी अस्पतालमा भइरहेको उक्त शल्यक्रिया हिमाल डेन्टलले समेत सफलतापूर्वक गरेको हो।
काठमाडौं बौद्घ निवासी १९ वर्षीय पुरुषको पहिलो अनुहारको आकृति मिलाएर शल्यक्रिया सफलताका साथ सम्पन्न गरिएको हस्पिटलका अध्यक्ष एवं कार्यकारी निर्देशक राजेन्द्र भट्टले जानकारी दिए। राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले निजी क्षेत्रमा उक्त सेवा दिने आफू नै पहिलो भएको बताए।
चिकित्सक डा किशोर भण्डारी र डा मनीष बज्राचार्यको टिमले ओम हस्पिटलको प्राविधिक सहयोगमा गरेको हो। डा किशोर भण्डारीको नेतृत्वमा डा नारायण शर्मा लामिछाने र डा गौरव कर्ण सम्मिलित टोलीले शल्यक्रिया गरेको हो। यस शल्यक्रियामा महत्वपूर्ण मानिने भर्चुअल प्लानिङ र थ्रिडी प्रिन्टिङ डा. उज्ज्वल प्याकुरेलले गरेका हुन्।
जर्मनी र ताइवानबाट विशेष तालिम प्राप्त गरेका डा भण्डारीको टिमले वीर अस्पतालबाट उक्त सेवा दिँदै आइरहेको छ। वीरको सिमित स्रोधसाधनले बिरामीको चाप नधान्ने भएकाले हिमाल डेन्टलमा विकल्प दिइएको डा भण्डारीले बताए। नेपालमा निजी अस्पतालले यो सेवा नदिएका कारण धेरै बिरामीहरु अनुहारको अकृति सच्याउन विदेश जाने गरेको डा भण्डारी बताउँछन्।
अनुहारको असामान्य आकृति के हो ?
डा.भण्डारीका अनुसार सामान्य अर्थमा अनुहारको माथिल्लो र तल्लो हड्डी बीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई 'फेरियल डिफोमिटिज' भनिन्छ। शल्यक्रियाका माध्यमबाट गरिने उपचार विधिलाई अनुहारको आकृति मिलाउने शल्यक्रिया अर्थात् (अर्थोग्न्याथिक सर्जरी) भनिन्छ।
उनका अनुसार शारीरिक विकास हुने क्रममा अनुहारको हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका 'फेरियल डिफोमिटिज' उत्पन्न हुन सक्छन्। उनी भन्छन्, 'अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, चिउँडो बांगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समन्वय नमिल्दा मुख बन्द नहुनु आदि पर्छन्। यसका अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटकको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रूपले विकसित हुन सक्छ।'
डा. बज्राचार्यका अनुसार यस प्रकारको अवस्थाका कारण अनुहारको आकृति असामान्य हुनुका साथै दैनिक क्रियाकलापहरूमा समेत भौतिक तथा मानसिक असर देखिन्छ। 'त्यस्ता बिरामीमा राम्ररी खाना चपाउन नसक्नु, बोली स्पष्ट नहुनु, बोल्दा थुक बाहिर उछिट्टिनु, अनुहारको मांसपेशीमा अत्यधिक दबाब पर्न गई अनुहारको जोर्नीमा नकारात्मक असर पर्नु, श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्नु र आत्मविश्वासको कमी हुनु आदि समस्या देखिन्छन्,' उनले भने।
उपचार विधि :
सामान्यतया यस किसिमको शल्यक्रिया गर्नुभन्दा पहिले दाँतमा बाधिन्छ र शल्यक्रियामार्फत् अनुहारको माथिको हड्डीलाई नयाँ पोजिसनमा सारी टिटानियम प्लेट्सले फिक्स गरिन्छ। सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ र अनुहारमा कुनै किसिमको दाग देखिँदैन। यो शल्यक्रिया गर्न ४ देखि ८ घण्टाको समय लाग्छ। शल्यक्रिया गरिसकेपछि सेवाग्राहीले १ देखि ३ दिन मात्र अस्पताल बस्नुपर्छ। घर गएपछि १ देखि २ हप्ता आराम गर्नुपर्छ। करिब ६ हप्तासम्म झोलिलो खानेकुरा खानुपर्छ।
शल्यक्रिया भएको २ देखि ३ हप्तापश्चात ब्रच्स बाध्ने काम सुरु हुन्छ, जुन ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ। यस किसिमका शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने कम्प्युटरको सहायताले अनुहारको बनोट निर्क्योल गरिन्छ।