काठमाडौं– चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क माग गरेको भन्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्।
काठमाडौं मेडिकल कलेजले स्नातक तहको एमबिबिएस तथा बिडिएसमा नयाँ भर्नाका लागि आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।
उनीहरुले काठमाडौं मेडिकल कलेज परिसरमा रिले अनसन समेत सुरु गरेका छन्। उनीहरु मंगलबार पनि बिहान १० बजेदेखि दुवाकोट र सिनानमंगलमा रिले अनसन सहित धर्ना बसेका छन्।
‘आयोगको नियम कार्यन्वयन गर, कलेज प्रशासन होसियार, अतिरिक्त शुल्क खारेज गर, दादागिरी बन्द गर, मेडिकल माफिया मुर्दाबाद!’ लेखिएको प्लेकार्ड बोकेर रिले अनसनमा बसेका छन्।
काठमाडौं मेडिकल कलेजले आयोगको ऐन विपरित भर्ना फारम, केयू रजिष्ट्रेशन, केयु सम्बन्धन, केयु परीक्षा शुल्क, इन्टर्नसिप शुल्क गरी ४ लाख ६७ हजार ५७९ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ।
यस्तै, सामुदायिक तालिम, फरेन्सिक पोस्टिङ, फिल्ड भ्रमण तथा शिक्षा मन्त्रालयको दर्ता शुल्क, चिकित्सा शिक्षा आयोगको दर्ता शुल्क जस्ता शिर्षकहरुमा लाग्ने शुल्क निर्धारण नगरी भविष्यमा कलेजले आफूले चाहे अनुसार शुल्क लिनको लागि करारनामामा शर्त राखिएको विद्यार्थीहरुले गुनासो गरेका छन्।
आयोगले अनिवार्य नगरेको छात्राबास शुल्क समेत बढी माग गरेको विद्यार्थीहरुले बताएका छन्।
कलेजले तोकेको अतिरिक्त शुल्क खारेज नभएसम्म आफ्नो अनसन जारी राख्ने एक विद्यार्थीले बताए।
'हामी तीनदिनदेखि रिले अनसनमा छौं, तर कलेज प्रशासनले बढी शुल्क नतिरि भर्ना नै नलिने भन्दैछ, आफ्नो मागको सुनुवाइ भएको छैन,' उनले भने, 'अतिरिक्त शुल्क खारेजी नभएसम्म हामी आन्दोलन जारी राख्छौं।'
शुल्क बढी नलिन संसदको शिक्षा तथा स्वास्थ्य समिति र गृह मन्त्रालयले समेत निर्देशन दिएका छन्।
![](https://swasthyakhabar.com/uploads/editor/2021-11-30/kmc%20ma%20dharna.jpg)