महेन्द्रनगर- कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ। जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश फर्किनेलाई एन्टिजेन टेष्टका साथै कोरोना विरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको छ।
भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या पनि बढिरहेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले ओमिक्रोनको उच्च जोखिममा कञ्चनपुर रहेको बताए।“ दिल्लीमा सङ्क्रमण बढिरहँदा अरु भन्दा हामी बढी जोखिममा छौं ।” उनले भने,“त्यसैले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध गड्डाचौकी नाकामै मिलाएका छौं।”
उनले कोरोना परीक्षणसँगै क्षयरोग र मलेरिया जाँचसमेत नाकामै हुने गरेको बताए।“ सोमबार मात्रै नाकामा चारजना भारतबाट फर्किनेमा कोरोना देखियो।” उनले भने,“ सङ्क्रमितलाई महाकाली प्रादेशिक अस्पतालमा राखेर नमूना परीक्षण गर्न काठमाडौँ पठाएका छौं।” उनले एन्जिेटन विधिबाट कोरोना देखिएकाको स्याम्पल नमूना सङ्कलन गरेर ओमिक्रोनबारे पत्ता लगाउन काठमाडौं पठाउने गरेको बताए।
“ ओमिक्रोन कोरोनाकै एउटा प्रजाती र नेपालमा आगामी माघ दोस्रो सातायता आउन सक्ने प्रक्षेपण पनि गरिएको छ ।” उनले भने–“ नाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टरको प्रबन्धका लागि सरोकारवाला निकायसित समन्वय गरिरहेका छौं।” उनले विगतको भन्दा थप सवल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटिसकेको जानकारी दिए। उनले खुल्ला सीमा नाकाका कारण सङ्क्रमण नियन्त्रणमा समस्या रहेको बताए। “अवैध नाकाबाट भारतबाट मान्छे आउन नदिनु नै चुनौतीको विषय छ ।” उनले भने–“ गड्डाचौकी नाकाबाट आउनेमध्येमा कोरोना देखिएकै छ।”
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले आज बिहान मात्रै भारतबाट स्वदेश फर्किन लागेका ८ जनामा नाकामा परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको बताए। “अलि पहिलेसम्म सातामा एक–दुई जनामा यहाँ सङ्क्रमण देखिन्थ्यो।” उनले भने–“तर हिजोआज सङ्क्रमण दर बढ्न थालेको देखियो।” रासस