काठमाडौं- पछिल्लो २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।
खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन्। त्यस्तै १ करोड ४५ लाखले कम्तिमा एक मात्रा खोप लगाएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन्। जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २६० जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन्।
यसैविच सरकारले थप एक मात्रा खोप दिने तयारी गरिरहेको छ। मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले बुस्टर डोज खोप लगाउन पाउने छन्।
मन्त्रालयका अनुसार बुस्टर डोज खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ।