काठमाडौं- पोखराको मणिपाल मेडिकल कलेजमा लागेको ताला खुलेको छ। कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति जनाएसँगै ताला खुलेको हो। कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो। बुधबार आन्दोलनरत विद्यार्थी संगठन र प्रशासनबीच शुल्क फिर्ता गर्ने सहमति भएपछि अनेरास्ववियुले ताला खुलेको छ।
मणिपालले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुका साथै कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाएको वार्तामा सहभागी विद्यार्थीहरुले बताएका छन्। कलेज प्रशासनले विद्यार्थीसँग लिइसकेको अतिरिक्त शुल्क अर्को वर्षको शुल्कमा मिलान गर्ने सहमति जनाएको छ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ तोकेको छ। तर, मेकिल कलेजहरुले भने होस्टल, सेक्युरिटीलगायतका नाममा ६ लाख रुपैयाँसम्म बढी असुल गरेको विद्यार्थीहरुको भनाइ छ।
बुधबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, कलेज प्रशासन र आन्दोलनरत विद्यार्थी संगठनबीच सहमति भएको हो।
चिकित्सा शिक्षा आयोगले पुस ९ गते एक सूचना जारी गरेर होस्टल र मेस अनिवार्य नगर्न मेडिकल कलेजहरुलाई आग्रह गरेको छ।
यस्तो छ सहमतिपत्र :