काठमाडौं- नेपालमा कोरोना भइरस संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो केही दिन यता संक्रमित थपिने क्रम बढ्न थालेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सीमा नाकामा रहेका हेल्थ डेस्कमा गरिएको परीक्षणमा संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ।
भारतसँग सीमा जोडिएका नाकामा रहेका हेल्थ डेस्कमा गरिएको एन्टीजीन परीक्षणमा कोरोना संक्रमित फेला पर्ने क्रम बढ्दै गएको हो।
भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्दै गएको मन्त्रालयका कर्मचारी बताउँछन्।
मन्त्रालयको तथ्यांक अनुसार सीमा नाकामा गरिएको एन्टीजीन परीक्षणमा १९ गते सोमबार ५ जनामा संक्रमण भेटिएको थियो। २० गते मंगलबार उक्त संख्या बढेर ३८ मा पुगेको थियो। पछिल्लो २४ घण्टामा ४८ जनामा संक्रमण फेला परेको मन्त्रालयको तथ्यांकले देखाएको छ।
मन्त्रालयले सीमा नाकामा फेला परेका संक्रमितको जीन स्वीक्वेन्सिङ गर्दै कुन भेरियन्टको संक्रमण हो भनेर पत्ता लगाउने काम पनि अगाडि बढाएको छ।