काठमाडौं- नेपालमा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभभर ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।
जसमध्ये ४ हजार ८५२ जना होम आइसोलेसनमा रहेका छन् भने ३७३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन्। मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा ३७० जनामा कोरोना संक्रमण देखिएको छ। २४ घण्टामा १० हजार २६७ जनाको कुल परीक्षणमा ६ हजार ७१५ जनाको पीसीआर र ३ हजार ५५२ जनामा एन्टिजेन परीक्षण गरिएको छ।
एन्टिजेन परीक्षणमा ६५ जनामा संक्रमण देखिएको छ। २४ घण्टामा मृत्युको संख्या भने शून्य रहेको छ भने २३९ जना डिस्चार्ज भएका छन्।
त्यसैगरी विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा २५३ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुरमा १८,ललितपुरमा २६ र काठमाडौँमा २०९ जनामा संक्रमण देखिएको हो।