काठमाडौं- क्यूआर कोडसहितको खोप प्रमाणपत्रको लागि अनलाइन आवेदन प्रक्रिया बारे बुझाउन नसक्दा समस्या भएको छ। क्यूआर कोडसहितको कोरोना खोप प्रमाणपत्र कसरी लिने भन्ने अन्यौल बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे थप स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार अब अनलाइनबाटै क्यूआर कोडसहितको खोप प्रमाणपत्र लिन मिल्नेछ। विदेश यात्रामा जानको लागि कोरोना भाइरसविरुद्धको खोप लगाएकाले विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ।
खोप प्रमाणीकरणका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गइ अनलाइन फारम भर्न सकिनेछ।
आवेदन फारम भर्दा तीन वटा कागजातहरू (परिचय पत्र वा पासपोर्ट, पासपोर्ट साइजको फोटो र खोप कार्ड) अपलोड गर्नुपर्छ। आवेदन दर्ता भएपछि रजिष्ट्रेसन नम्बर दिइन्छ। जुन आफुले सुरक्षित राख्नुपर्नेछ। प्रमाणपत्रका लागि आवेदन भरिसकेको २४ देखि ४८ घण्टाभित्र प्रमाणीकरण समय लाग्छ।
आफ्नो आवेदनको अवस्थाबारे बुझ्न https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदन दर्ता नम्बर र जन्ममिति राखी खोज्न सकिनेछ।
आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ। भने आवेदन अस्वीकृत भएमा विवरण सच्याएर पुनः पेश गर्नुपर्छ र अर्को दिन पुनः https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदनको अवस्था बुझ्न सकिनेछ र प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ।
कुनै प्राविधिक समस्या आएमा जोन्सन एण्ड जोनसनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य संस्था भएको स्थानीय पालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध गरेको छ।
उक्त खोप प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन।