काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रत्यक्ष भेटघाट बन्द गरेका छन्। कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेका कारण उनले भेटघाट बन्द गरेका हुन्। प्रचण्डका स्वकीय सचिव गंगा दाहालले कोरोना संक्रमण तथा स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रचण्डले केहि दिनका लागि प्रत्यक्ष भेटघाट बन्द गरेको जानकारी दिएकी छिन्।
माओवादी केन्द्रीय कार्यालयका केही नेता र कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रचण्डको सचिवालयले भौतिक रुपमा हुने भेटघाट र बधाई ज्ञापनको कार्यक्रम स्थगित गरिएको जनाएको हो। माओवादी केन्द्रीय कार्यालयका लेखा प्रमुखसहित ६ जनालाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ।
उनले फेसबुकमा लेखेकी छन्, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं। यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ ।’
उनले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्ने जानकारी गराएकी छन्।
‘हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं। केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडलाई समेत कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।' उनले लेखेकी छन्।