काठमाडौं- भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। कोरोना संक्रमण बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेको छ। भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो। भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ।
केही दिनअघिसम्म पाँच हजारभन्दा तल रहेको भारतको दैनिक कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट आएसँग दिनदिनै बढिरहेको छ।
देउवा यही पुस २५ गते भारत जाने तयारी थिए। देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो।
गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए।