काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिएसँगै कान्ति बाल अस्पतालमा उपचारका लागि जाने बिरामीको चाप कम हुँदै गएको पाइएको छ।
कान्ति बाल अस्पतालको तीन वर्षको तथ्यांकलाई हेर्दा अस्पतालमा बिरामीको संख्या घट्दै गएको देखिन्छ।
कोरोना महामारीका कारण बिरामीको संख्यामा घट्दै गएको कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले जानकारी दिए।
अस्पतालको ६० औं वार्षिक उत्सवको अवसरमा अस्पतालले बिहीबार सार्वजनिक गरेको कान्ति स्मारिकामा उल्लेख गरिएको तीन वर्षको तथ्यांकलाई हेर्दा विभिन्न किसिमका सेवा लिने बिरामीको संख्या घट्दै गएको देखिन्छ।
अस्पतालको तथ्यांकका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ओपिडी सेवा लिनेको संख्या १ लाख ५४ हजार ८२३ थियो। यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ३ हजार ५३३ जनाले ओपिडि सेवा लिएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ५३ हजार ४६७ जनाले मात्र ओपिडि सेवा लिएको देखिन्छ।
यस्तै, आकस्मिक सेवा लिने बिरामीको संख्यामा पनि कमी आएको तथ्यांकले देखाउँछ।
आर्थिक वर्ष २०७५/०७६ मा आकस्मिक सेवा लिनेको संख्या ५५ हजार ५१४ थियो। यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ४२ हजार २६३ जनाले आकस्मिक सेवा लिएकोमा आर्थिक वर्ष २०७७/०७८ मा २१ हजार ८६ जनाले मात्र आकस्मिक सेवा लिएको देखिन्छ।
यसैगरी, एक्सरे सेवा लिनेमा आर्थिक वर्ष २०७५/०७६ मा ४५ हजार २३२ जना थिए भने आर्थिक वर्ष २०७६/०७७ मा ३५ हजार २३ जना र आर्थिक वर्ष २०७७/०७८ मा २१ हजार ८७२ जना थिए।
इसिजी गर्नेको संख्या भने आर्थिक वर्ष आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा केही बढेको छ। इसिजी सेवा लिनेमा आर्थिक वर्ष २०७५/०७६ मा ७१४ जना थिए भने आर्थिक वर्ष २०७६/०७७ मा ४७७ जना र आर्थिक वर्ष २०७७/०७८ मा ५०६ जना थिए।
सिटी स्क्यान सेवा लिनेमा आर्थिक वर्ष २०७५/०७६ मा १४६ जना थिए भने आर्थिक वर्ष २०७६/०७७ मा १५१ जना र आर्थिक वर्ष २०७७/०७८ मा १११ जना थिए।
यस्तै प्रिभेन्टिभ सर्भिस लिनेमा आर्थिक वर्ष २०७५/०७६ मा ७ हजार ८०० जना थिए भने आर्थिक वर्ष २०७६/०७७ मा ६ हजार ४९२ जना र आर्थिक वर्ष २०७७/०७८ मा४ हजार ३८३ जना थिए।
फिजियोथेरापी सेवा लिनेमा आर्थिक वर्ष २०७५/०७६ मा १ हजार २४८ जना थिए भने आर्थिक वर्ष २०७६/०७७ मा ८२४ जना र आर्थिक वर्ष २०७७/०७८ मा ७७२ जना थिए।
पछिल्लो तीन वर्षमा अस्पतालमा भर्ना भएर सेवा लिने बिरामीको संख्या पनि घट्दै गएको देखिन्छ।
भर्ना हुने बिरामीमा आर्थिक वर्ष २०७५/०७६ मा १० हजार ८३ जना थिए भने आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ४७२ जना र आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार २०४ जना थिए।
कोरोना महामारीले अस्पतालमा सर्जरी सेवा समेत प्रभावित भएको तथ्यांकले प्रष्ट पार्छ।
सर्जरी सेवा लिनेमा आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ९०७ जना थिए भने आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३१८ जना र आर्थिक वर्ष २०७७/०७८ मा ७१६ जना थिए।
तीन वर्षको अवधिमा मृत्युको तथ्यांक भने बढेको देखिन्छ।
आर्थिक वर्ष २०७५/०७६ मा २४५ जनाको उपचारको क्रममा मृत्यु भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा १९४ जना थिए तर आर्थिक वर्ष २०७७/०७८ मा मृत्युदर बढेर २७३ पुगेको अस्पतालको तथ्यांकमा उल्लेख छ।
यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा भर्ना भएका मध्ये९ हजार ९८५ जना डिस्चार्ज भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ४८२ जना र आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार ७९ जना डिस्चार्ज भएका थिए।
तीन वर्षको अवधिमा बिरामीको संख्यामा कमी हुँदा अस्पतालको निःशुल्क स्वास्थ्य सेवा लिनेको संख्यामा पनि कमी हुँदै गएको देखिन्छ।
निःशुल्क स्वास्थ्य सेवा लिनेमा आर्थिक वर्ष २०७५/०७६ मा ६ हजार ४५९ जना थिए भने आर्थिक वर्ष २०७६/०७७ मा ८२१ जना र आर्थिक वर्ष २०७७/०७८ मा ७११ जना थिए।
अस्पतालका निर्देशक डा रायमाझीले कोरोना महामारीका कारण बिरामीको संख्यामा कमी हुँदै आएको बताए।
कान्ति बाल अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाहरुको उपचार हुँदै आएको छ।
अस्पतालले बालबालिकाहरुको क्यान्सर, स्नायु रोग, इन्डोक्रियोनोलोजी, मानसिक रोग नवजात शिशुको उपचार तथा शल्यक्रिया, निशुल्क आकस्मिक उपचार, सामाजिक सेवा ईकाइ, थालेसेमियाका बिरामीको निशुल्क उपचार, कोभिड तथा ननकोभिड बिरामीको छुट्टाछुट्टै सघन उपचार कक्ष सहितको सेवा दिइएको अस्पतालका निर्देशक डा रायमाझीले जानकारी दिए।
उनले कान्ति बाल अस्पताल साधारण, विपन्न तथा सिमान्तकृत वर्गको बढी पहुँचमा रहेका जानकारी दिए।