काठमाडौं- पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ।
गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो। केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
उनका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पाइएको छ। पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत सङ्क्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गराएका छन्।