काठमाडौं- किष्ट मेडिकल कलेजमा मृत मानव शरीरमा प्रयोगात्मक सीप कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा सहभागीहरुले मृत मानव शरीरमा गरिने प्रयोगात्मक अभ्यास गर्दा व्यवसायीक आचरणलाई अनिवार्य रुपमा ध्यान दिनुपर्ने बताएका छन्।
मृत मानव शरीरमा गरिने प्रयोगात्मक अभ्यास जटिल प्रकारको हुने भएकोले अनुभवी विशेषज्ञ चिकित्सकहरुको टोली खटिनुपर्नेमा उनिहरुको जोड छ। आर्थोस्कोपी सोसाईटी अफ नेपाल र सर्जिकल सोसाईटी अफ नेपालको सहयोगमा भएको हो। कार्यशालामा २ वटा बेवारिसे शवहरुको सफलतापुर्वक प्रयोगात्मक अभ्यास गरिएको थियो।
किष्ट मेडिकल कलेजमा यान्त्रिक सीप प्रयोगशालाका माध्यमबाट नियमित रुपमा पठन पाठन संचालन भइरहेको छ। शिक्षण संस्थाहरुमा बिरलै हुने उक्त तालिम चिकित्सा विज्ञानको सीप प्रशिक्षण प्रविधिमा कोशेढुङ्गा सावित हुने बताइएको छ। सीप विकास प्रयोगशालालाई भविष्यमा निरन्तरता दिन सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण कार्य समेत भइरहेको छ।
उक्त कार्यशालामा शल्यचिकित्सा, हाडजोर्नी, युरोलोजी,नाक, कान, तथा घाँटी, स्नायू शल्यचिकित्सा,दन्त शल्यचिकित्सा, प्रयोगशाला विधा, मानव शरीर रचना तथा विधी विज्ञान विभागका चिकित्सकहरु एवं प्रशिक्षार्थीहरु गरी ६६ जना सहभागी थिए।