काठमाडौं– वीर अस्पतालमा सुरु भएको टेली कन्सलटेन्ट सेवामा एक महिनामा १ हजार ८३९ जनाले फोन मार्फत स्वास्थ्य सम्बन्धी परामर्श लिएका छन्।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतका अनुसार एक महिनाको अवधिमा १ हजार ८३९ जनाले फोन मार्फत स्वास्थ्य परामर्श लिएका थिए।
कोरोना महामारीलाई लक्षित गरी कोरोनासँग सम्बन्धित समस्या भएका व्यक्तिलाई चिकित्सकीय परामर्श तथा सूचना लिने उद्देश्यले टेली कन्सलटेन्ट सेवा सञ्चालन गरीएको थियो। टेली कन्सलटेन्ट सेवा लिनेहरुमध्ये कोभिड खोपसँग सम्बन्धित जिज्ञासाहरु बढी थिए।
अस्पतालको तथ्यांकका अनुसार खोप सम्बन्धि जिज्ञासा गर्नेहरु ९१० वटा फोनकल आएको थियो।
यस्तै, कोभिड–१९ सम्बन्धी ३३८, ननकोभिड १२२, अस्पतालको बेड सम्बन्धी ३०६ र अन्य १६३ वटा फोन कल आएको थियो।
कोरोना महामारीलाई लक्षित गर्दै वीर अस्पतालमा गत मंसिर १६ गतेदेखि टेली कन्सलटेन्ट सेवा सुरु गरिएको थियो।
टेली कन्सलटेन्ट सेवा मार्फत वीर अस्पतालले बिरामीहरुलाई फोनमार्फत निःशुल्क चिकित्सकीय परामर्श दिँदै आएको छ। जसमा मेडिकल अफिसर र पारामेडिक्स लगायतका टोली परिचालन गरिएको छ। उनीहरुले फोन मार्फत कोरोना महामारी तथा बिरामीका अन्य जिज्ञासाका विषयमा बिरामीलाई परामर्श सेवा दिदै आएका छन्।
यो सेवा लिन ११३३ नम्बरमा फोन गर्नुपर्ने हुन्छ। ओमिक्रोन नेपालमा फैलिएको अवस्थामा टेलिकन्सलटेन्ट सेवा बिरामीका लागि अझ प्रभावकारी हुने डा बस्नेतले बताए।