बैतडी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको छ। शुक्रबार एकैदिन यस प्रदेशमा १५८ मा संक्रमणपुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि बिहीबार एकैदिन १२० र बुधबार ५५ मा सङ्क्रमण देखिएको थियो।
गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३८५ को नमूना परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि छ। पीसीआरमार्फत ५७ र एन्टीजेनमार्फत १०१ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत महाकाली अस्पतालमा ५१ र सेती प्रादेशिक अस्पतालमा छ र एन्टीजेनमार्फत कैलालीका ५८, कञ्चनपुरका ४०, बझाङ्गका दुई र डडेल्धुराका एकमा संक्रमण पुष्टि भएको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर छ जना संक्रमणमुक्त भएका छन्। सो अवधिमा यस प्रदेशमा संक्रमणका कारण कुनै मृत्यु भएको छैन। यसअघि बिहीबार यस प्रदेशमा १२० मा सङ्क्रमण पुष्टि हुँदा छ सङ्क्रमणमुक्त भएका थिए। सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ को मृत्यु भइसकेको छ।रासस