काठमाडौं– वीर अस्पतालमा कोरोना महामारीको कारण बन्द भएको म्यानोमेट्री सेवा पुन सुरु भएको छ। कोरोना महामारीको समयमा क्याथेटरको अभावका कारण बन्द भएको सेवा केही दिन अघिदेखि पुनः सुरु गरिएको अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।
डा बस्नेतका अनुसार क्याथेटर व्यवस्थापन भएसँगै सेवा पुन सुरु गरिएको हो।
२०७४ सालमा डा बस्नेत अस्पतालका निर्देशक हुँदा नै म्यानोमेट्री सेवा सुरु गरेका थिए। तर कोरोना भाइरसको संक्रमण फैलिएको केही समयपछि यसका लागि आवश्यक क्याथेटरको अभाव भएपछि सेवा नै बन्द भएको थियो।
अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाएसँगै उनले कोभिडले बन्द भएको म्यानोमेट्री सेवा पुनः सुरु गरेका हुन्।
के हो म्यानोमेट्री सेवा?
वीर अस्पताल प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोलोजिष्ट डा मुकेश शर्मा पौडेलका अनुसार खाना निल्न समस्या भएका, घाँटीमा केही अड्किएजस्तो भएका, अमिलो पानी आउने, डकार आउने बिरामीहरुलाई म्यानोमेट्री मेसिनबाट परीक्षण गरिन्छ। यसरी जाँच गर्दा खाना निल्ने नलीमा भएको समस्याहरु मासु पलाउने, घाउ हुने, खाना निल्ने नलीको कार्यमा समस्या देखिएको लगायतका समस्या म्यानोमेट्री गर्दा पत्ता लगाउन सकिने डा पौडेलले बताए।
उनका अनुसार म्यानोमेट्री परीक्षण गर्दा खाना निल्ने नलीमा हुने रोग यक्लासिया समेत पत्ता लगाउन सहज हुने गर्छ।
वर्षौदेखि खाना नलीमा अड्किएको जस्तो हुने, खाना पेटसम्म पुगेजस्तो नहुने, खाना नलीमै अड्किएर बस्ने, जसले गर्दा छाती दुख्ने बिरामीलाई यो परीक्षण प्रभावकारी हुने डा पौडेलले बताए।
‘छाती दुख्यो भनेर मुटु परीक्षण गराउदा रिपोर्ट नर्मल देखिन्छ, पेटमा रोग छ कि भनेर इन्डोस्कोपी गर्दा पेटमा पनि समस्या देखिदैन, तर छाती दुखिरहन्छ भने यस्ता बिरामीलाई हामी म्यानोमेट्रीबाट डाइग्नोस्टिक गछौं,’ उनले भने, ‘म्यानोमेट्रीबाट खाना नलीमा भएको रोग पत्ता लगाउछौं।’
डा पौडेलका अनुसार दिशानलीबाट पाइप हालेर गरीने परीक्षण पनि यही मेसिनबाट गरिन्छ। यो विधिलाई एनोरेक्टर म्यानोमेट्री भनिन्छ। यो मेसिनका लागि पाइप भने फरक फरक हुन्छ।
दिशा राम्रोसँग नहुने, दिशा गर्दा अड्किएको जस्तो हुने, दिशा गरिसकेपछि निख्रिएको जस्तो नलाग्ने तथा डिसइनर्जिया अर्थात उमेर बढ्दै जाँदा दिशा गर्न गाह्रो हुने समस्या भएका बिरामीलाई यो विधिबाट परीक्षण गरिन्छ। म्यानोमेट्री विधिबाट परीक्षण गर्दा डिसइनर्जियाको समस्या पत्ता लागेका बिरामीलाई यही विधिबाट बायोफिडब्याक उपचार पनि गरिन्छ।
यो विधिबाट उपचार सेवा नेपालमा अन्य अस्पतालहरुमा भने नभएको उनले बताए।
डिसइनर्जियाको समस्या भएका बिरामीलाई एनोरेक्टर म्यानोमेट्री बाट बायोफिडब्याक थेरापी गराउँदा बिरामीको अवस्था अनुसार ४ देखि ६ सेसनसम्म गराइन्छ।
चिकित्सकहरुले बिरामीलाई सातामा दुईपटक ३० मिनेट देखि १ घण्टासम्म बिरामीको अवस्था अनुसार उपचार गराउँछन्।
नेपालमा घाँटीमा केही अड्किएजस्तो हुने, अमिलो पानी आउने, डकार आउने समस्या बढी रहेकाले यो म्यानोमेट्रीबाट उपचार गराउने बिरामीको संख्या पनि बढी नै हुनसक्ने उनले बताए। तर उपचार विधिबारे जानकारी नहुँदा अस्पतालमा आउने बिरामीको संख्या भने न्युन रहेको डा पौडेलको भनाइ छ।
सोमबार, बुधबार र शुक्रबार गरी साताको तीनदिन म्यानोमेट्री सेवा दिँदै आएको र सेवा प्रवाह भएको दिन ५ जनासम्म बिरामीहरु आउने गरेको डा पौडेलले बताए।
वीर अस्पतालमा घाँटीबाट पाइप राखेर परीक्षण गर्दा ३ हजार र दिशानलीबाट पाइप राखेर परीक्षण गर्दा ३ हजार ५ सय खर्च लाग्ने डा पौडेलले जानकारी दिए।
यस्तै, दिशानलीमा समस्या भएका बिरामीलाई बायोफिडब्याक थेरापी दिदाँ भने शुल्क नलाग्ने उनले बताए।