काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी नेता सत्य पहाडीलाई कोरोना संक्रमण भएको छ।
नेता पहाडीका अनुसार उनीहरु दुवैजना अहिले होम आइसोलेसनमा बसिरहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको नेता बस्नेतको सचिवालयले जनाएको छ।
पहाडीलाई तेस्रोपटक कोरोना संक्रमण भएको हो।
पुस ११–१८ मा काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा सहभागी भएपछि उनीहरूमा कोरोनाको लक्षण देखिएको थियो। परीक्षण गराउँदा संक्रमण पुष्टि भएको नेता बस्नेतको सचिवालयले जनाएको छ।
यसअघि महाधिवेशनमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्यायलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ।
यस्तै, युवा नेताहरू रामप्रसाद सापकोटा 'दीपशिखा', प्रचण्डका स्वकीय सचिव रमेश मल्लका साथै युवा नेताहरू सुमन देवकोटा, सुवोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डे लगायतलाई पनि कोरोना देखिएको छ। उनीहरू सबै होम आइसोलेसनमा छन्।