जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका भित्रका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन्। सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो।
कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालले भनिन्, “नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट दिने सेवालाई छिटोछरितो बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेका छौँ। नगरपालिकाका ९५ प्रतिशत बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्न र कोरोनाको खोप लगाउन स्थानीयवासीलाई खोप केन्द्रमा सम्पर्क गर्न सूचित गरिसकेका छौँ, राज्यले पठाएको कोरोना खोपलाई सदुपयोग गर्नुपर्छ। ”
आगामी दिनमा पनि युनिसेफ नेपालसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनले बताइन्। बालबालिलाई खोप लगाउन सबै पक्षको सहयोग रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको छ। सबै बालबालिकालाई पूर्णखोप लगाउनका लागि सरोकारवालाले खोपबारे जनचेतना फैलाउन अतिआवश्यक छ। खोप केन्द्रमा १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइने भएकाले स्थानीय तहका खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको कार्यालयले जनाएको छ।रासस