काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी राखेर प्रशासन तर्फको सचिव याम कुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेको छ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेकी सचिव खतिवडालाई स्वास्थ्य मन्त्रालयको दरबन्दीमा प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय गरेको हो।
यस्तै, प्रधानमन्त्री कार्यालयमा नै स्वास्थ्य मन्त्रालयको जनसंख्या हेर्ने गरी जिम्मेवारीमा रहेका सचिव खगेन्द्र प्रसाद नेपालका लागि भने विशेष पद सिर्जना गरिएको छ। उनी गत असर २८ गते सचिवमा बढुवा भएका थिए। स्वास्थ्य समस्याका कारण उनलाई हिँडडुल गर्न सहयोगी कर्मचारी समेत आवश्यक पर्छ। त्यसकारण उनलाई स्वास्थ्यकै दरबन्दीमा प्रधानमन्त्री कार्यालयमा नै जिम्मेवारी दिएर राखिएको थियो।
बुधबारको मन्त्रिपरिषद बैठकले उनको स्थानमा याकुमारी खतिवडालाई ल्याउँदै नेपाललाई विशेष पद सिर्जना गरेको एक मन्त्रीले जानकारी दिए। उनका लागि थप गरिएको विशेष पद उनले अवकाश पाएसँगै खारेज हुने पनि ती मन्त्रीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयमा अहिले स्वास्थ्य सेवा समूहकै डा रोशन पोखरेल सचिव छन्। यसअघि मन्त्रालयमा नै दुई जना सचिव थिए। स्वास्थ्य र प्रशासन तर्फको सचिव हुँदा मन्त्रालयमा सँधैजसो विवाद मात्र हुँदै आएको थियो।
सरकारले विवाद समाधान गर्न स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सचिवको दरबन्दी रहेपनि सचिवहरुलाई भने प्रधानमन्त्री कार्यालयमा नै तानेको छ।