काठमाडौं- नेपाल मेडिकल काउन्सिलको नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको परीक्षाको नतिजा आज आइतबार सार्वजनिक गरेको हो।
सार्वजनिक नतिजा अनुसार मेडिकल (एमबिबिएस) तर्फ ५० दशमलव ५८ प्रतिशत उत्तीर्ण भएका छन्। यस्तै डेन्टल (बिडिएस) तर्फ ४० दशमलव ९७ प्रतिशत उत्तीर्ण भएका छन्।
मेडिकल तर्फ एक हजार ७३४ जनाले आवेदन दिएकामा १२ जना अनुपस्थित भएका थिए। परीक्षामा एक हजार ७२२ जना सहभागी भएका थिए। जसमध्ये ८५१ जना फेल भएका छन् भने ८७१ जना पास भएका छन्।
यस्तै डेन्टल तर्फ ४३५ जनाले आवेदन दिएकामा ३ जना अनुपस्थित थिए। परीक्षामा ४३२ जना सहभागी भएकामा २५५ जना फेल भएका छन् भने १७७ जना पास भएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले जानकारी दिए।