काठमाडौं- उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले लकडाउन हुने हल्लाको पछाडि नलाग्न नागरिकहरुलाई आग्रह गरेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै जिल्लाका सीडिओहरुको बैठक नबसेको र तत्कालै कुनै लकडाउन घोषणा गर्ने तयारी नरहेको बताएका हुन्।
कोरोनाको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा लकडाउन हुने हल्ला व्यापक रुपमा फैलिएको छ। आइतबार थप ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण २ जनाले ज्यान पनि गुमाएका छन्। दैनिक रुपमा कोरोनाको संक्रमित हुने ग्राफ उकालो लागेसँगै पुन लकडाउन हुने हो कि भन्ने हल्ला चलेको छ।
त्यसैका लागि काठमाडौं उपत्यकका तीन जिल्लाका प्रमुखहरुको बैठक बस्ने हल्लासमेत चलेको थियो। ‘हालसम्म यस्तो कुनै बैठक बसेका छैनौं र लकडाउन गर्ने तयारी समेत छैन,’ उपाध्यायले भने। यता, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आइतबार आन्तरिक बैठक बसेको र जिल्लाभरका विद्यालयमा खोप अभियान तीव्र पार्ने निर्णय गरेको जानकारी दिए। उनले पनि हालसम्म कुनै लकडाउन वा निषेधाज्ञा घोषणा गर्ने तयारी नरहेको स्पष्ट पारे।
‘लकडाउन वा अन्य निर्णय गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठक बस्नुपर्ने हुन्छ। उक्त बैठक हालसम्म बसेको कुनै जानकारी छैन। त्यसैले हामीले लकडाउन गर्ने तयारी पनि गरेका छैनौं,’ उनले भने।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पनि हालसम्म लकडाउनको कुनै कार्यक्रम नरहेको बताए। लकडाउन वा निषेधाज्ञाको निर्णय सीसीएमसीको र उपत्यकाका तीन जिल्लाका सीडिओको बैठकपछि मात्र हुने उनले बताए।
संक्रमण बढ्दै गएका सर्कतकता अपाउने कुरामा भने कडाइ गर्नुपर्ने अवस्था भएको उनको भनाइ छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रा शर्माले जिल्लामा स्वाथ्य मापदण्ड कडाइ गर्ने, मास्क अभियानालाई तीव्रता तथा कडाइ गर्ने र अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय भएको बताइन्।
‘आजको बैठक सकिएको छ। बैठकले कोरोना रोकथामका लागि आवश्यक तयारी गर्न निर्देशन दिने निर्णय गरेको छ,’ उनले भनिन्, ‘मास्क, अस्पताल र अन्य स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय भएको छ।’ कोरोना संक्रमण बढेका पनि अहिले नै लकडाउन वा निषेधाज्ञाजस्ता कार्यक्रम गर्ने योजना नरहेका उनले बताइन्।
‘अहिले नै लकडाउन गर्ने कुरा केही छैन। नागरिकलाई मर्कामा पर्ने गरि लकडाउन घोषणा हुँदैन,’ उनले भनिन्,‘कोरोना संक्रमण धेरै देखिएको ठाउँमा लकडाउन होला, तर त्यसका लागि सीसीएमसीको बैठक बसेर निर्णय गर्ने हो।’