काठमाडौं– कैलालीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ। केही दिनयता संक्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो। उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन्।
कैलाली भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारणले पनि अन्य जिल्लाभन्दा बढी कोरोनाको बढी जोखिममा रहेको छ। यसमा पनि भारतीय नागरिक अवैध सीमानाकाबाट व्यवसायको लागि नेपाल प्रवेशको क्रम नरोकिएकाले पनि जोखिम बढेको भजनी नगरपालिका–८ का विकास चौधरीले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतबाट आउने नेपाली नागरिकको संख्यामा वृद्धि भएको जनाउँदै उनीहरुको सीमानाकामा कोरोना परीक्षण गर्ने र आउने÷जानेको तथ्यांक राख्ने काम सुरु गरेको जानकारी दिए। अहिलेको समयमा मेला महोत्सव पनि हुने गरेको र माघीको समयमा हुने मेलाले सङ्क्रमण झन बढ्न सक्ने जनाउँदै त्यस्ता गतिविधि नगर्नसमेत उनले आग्रह गरेका छन्।
धनगढीको त्रिनगर भन्सार र टीकापुरको सत्ती भन्सारबाट आउने नेपाली नागरिकको कोरोना परीक्षणपश्चात् मात्रै नेपाल प्रवेश गर्न दिइएको जनाउँदै उनले सम्भावित लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको बताए।