काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो।
गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ। यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न पनि भनेको छ।
जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाई गर्न समेत सक्ने समेत गृह मन्त्रालयको निर्देशनमा उल्लेख छ।
यस्तै, सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन पनि भनेको छ। मन्त्रालयले माघ ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न भनेको छ।
मन्त्रालयले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन जारी गरेको छ।
यस्तै, नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन र त्यस्तो परीक्षणबाट संक्रमित देखिएकाहरुलाई तत्काल संस्थागत आइशोलेसन (होल्डिङ्ग सेन्टर, होटल आदि) मा राख्न सम्बन्धित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय गर्न आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।