काठमाडौं– सुत्केरीको मृत्युपछि त्रिशुली अस्पताल नुवाकोटमा तोडफोड भएको छ।
नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। आफन्तले लापरबाहीको आरोप लगाउँदै आएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले दुई जना स्त्री रोग विशेषज्ञ सहितको प्रसुती सेवा भएको र उपचारको प्रयास गरिएपनि पोष्ट पार्टम हेमरेज (सुत्केरीपछिको अत्यधिक रक्तश्राब)का कारण मृत्यु भएको बताए।
डा पाण्डेले उपचारका क्रममा कुनै लापरबाही नभएको पनि जानकारी दिए। उनले आफन्तलाई तोडफोडभन्दा पनि उपचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन भनेको पनि बताए।
उनका अनुसार आइतबार अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी ती महिलाको नर्मल डेलिभरी भएको थियो। ४० हप्ता कटेको गर्भ लिएर सुत्केरी गराउन आएकी ती महिलालाई प्रसव गराउन औषधि दिइएको थियो।
सुत्केरीको मृत्यु भएसँगै आफन्तले राती साढे ११ बजेदेखि अस्पतालमा तोडफोड गर्न थालेको डा पाण्डेले बताए।
‘४० हप्ता कटेको गर्भवती महिला सुत्केरी गराउन आएकी थिइन्, हामीले वेथा लाग्ने औषधि दिएका थियौ,’ डा पाण्डेले भने, नर्मल डेलिभरी भयो तर त्यसपछि अत्याधिक रक्तश्राब भएर महिलाको मृत्युभयो, हामीले प्रयास गर्दागर्दै बचाउन सकेनौं।’
आमाको मृत्युपछि अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएपछि शिशुलाई भने काठमाडौं रेफर गरिएको डा पाण्डेको भनाइ छ।
अस्पतालमा आफन्तले नाराबाजी र तोडफोड गरेपछि अस्पतालले मृतक महिलाका आफन्तसँग वार्ता गरेपछि शब भने लगिएको छ। अस्पतालमा तोडफोड र तनावपूर्ण अवस्था आएपछि त्रिशुली अस्पतालले आकस्मिक बाहेकको सेवा बन्द गरेको छ। चिकित्सकको सुरक्षाको ग्यारेन्टि भएपछि मात्र सम्पूर्ण सेवा संचालन गर्ने डा पाण्डेले बताए।