लमजुङ- बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीका दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेका ४५ वर्षीय धनबहादुर तामाङलाई रु ६२ हजार ७३५ सहयोगस्वरूप उपलब्ध गराइएको छ। नेकपा एमाले बेँसीसहर नगर कमिटीको पहलमा पार्टीको आठौँ जिल्ला अधिवेशनमा सहभागी प्रतिनिधिहरुबाट चन्दा सङ्कलन गरी सो रकम तामाङलाई उपलब्ध गराइएको हो। कमिटी सदस्य एवं सोही गाउँका स्थानीयवासी ईश्वरराज सेढाइँ र ऋषि सेढाइँको नेतृत्वमा सङ्कलित रकम नेकपा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारीले आज मिर्गौला पीडित तामाङलाई हस्तान्तरण गर्दै दुःखमा परेका नागरिकलाई सहयोग गरी मानवताको भावना प्रकट गर्नुपर्ने बताए। नागरिकस्तरबाट मात्र नभई सरकारले समेत यस्ता विषयमा चासो दिनुपर्ने उनको भनाइ थियो।
पीडित तामाङले उपचारका क्रममा हालसम्म रु ११ लाख खर्च भइसकेको र अझै धेरै रकम आवश्यक भए पनि आर्थिक अवस्था नाजुक भएकाले सबैको सहयोगको अपेक्षा गरिएको बताए। उनले भने, “मेरो जीवन बचाउन अमूल्य सहयोग रहोस्।’’ गत पुस ६ गते काठमाडौँको टिचिङ अस्पतालमा स्वास्थ्य जाँच गर्दा दुवै मिर्गौलाले काम नगर्ने पुष्टि भएको र उक्त अस्पतालमा ११ दिनसम्मको उपचार पछि हाल भरतपुरस्थित सरकारी अस्पतालमा उपचार गराउँदा अहिलेसम्म रू ११ लाख खर्च भइसकेको जनाइएको छ।
मिर्गौला फेर्नका लागि आफ्नै श्रीमतीले दिन राजी भएको र यसका लागि थप रू १० लाख जति आवश्यक रहेकाले सहयोगी मनहरुलाई मोबाइल नं ९८१७११३२२२ मा सम्पर्क गर्न वा माछापुच्छे बैंकको खाता नं १७००९४३४७६५०००१३ मा रकम जम्मा गरिदिन पीडित तामाङ्ले आग्रह गरे। रासस