चितवन- कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन्। खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरुको दाबी छ। भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए।
अहिलेसम्मको अध्ययनले खोप लगाएको तर ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी हुने उनले बताए। चिकित्सक अधिकारीले भने, “कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा छिटोछिटो फैलिएको छ।” २
४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उनले कुनै पनि भाइरस स्वरुपपरिवर्तन अथवा म्युटेसन हँुदा यो बढी गम्भीर भएर जानसक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्ने बताए।
देवघाट क्षेत्र सिल गरिने
पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ। पुस ३० गते बिहानबाट माघ १ गते बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो। कोभिडको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको छ।
माघे सङ्क्रातिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाटसमेत भक्तजन आउने गर्दछन्। प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले छिमेकी जिल्लाका प्रशासन कार्यालयमा जानकारीका लागि पत्राचार गरिसकिएको बताए।रासस