काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण पुनः बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएको देखिन्छ।
एकसाता अघि कोरोना संक्रमितको संख्या दैनिक ५ सय भन्दा कम रहेकोमा अहिले दैनिक २ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।
हेरौं ८ दिनमा संक्रमितको संख्या
पुस २१– ४३५
पुस २२– ५४०
पुस २३– ९६८
पुस २४– ९४४
पुस २५– ११६७
पुस २६–१४४६
पुस २७– २४४४
पुस २८–३०७५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समिर कुमार अधिकारीले हाल नेपालमा ओमिक्रोन भेरिएन्ट र डेल्टा भेरिएन्टको संक्रमण देखिएको बताए ।
संक्रमणदर बढ्दै जाँदा अस्पतालमा पनि कोरोना संक्रमितको चाप बढ्न थालेको चिकित्सकहरुले बताएका छन्।
हाल काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यी तीन जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
यस्तै, सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलालीमा पनि २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन। मुस्ताङ र मुगु बाहेक सबै जिल्लामा सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ११ हजार ६९० जना छन्। संक्रमणको दर बढ्दै गएसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन नपाइने, माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने, सार्वजनिक स्थल तथा होटल रेष्टुरेन्टमा जाँदा खोप कार्ड अनिवार्य हुनुपर्ने लगायतका नियम लागु समेत गरिसकेको छ।
सरकारले यी नियम लागु गरेपनि संक्रमण दर भने उकालो लाग्दै गइरहेको छ। यसरी संक्रमणदर बढ्नुलाई विज्ञहरुले भने नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत मानेका छन्।
स्वास्थ्य मन्त्रालयले भने अहिले नै तेस्रो लहर सुरु भएको भन्न सकिने अवस्था नरहेको तर संक्रमणदर बढ्नुले तेस्रो लहर सुरु हुने जोखिम रहेको जनाएको छ।
पहिलो र दोस्रो लहरमा बेड तथा अक्सिजन अभावको अवस्था देखिएकाले स्वास्थ्य मन्त्रालयले सम्भावित तेस्रो लहरमा फेरि समस्या निम्तिन नदिन सबै अस्पतालसँग समन्वय गरिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए।
स्वास्थ्य मन्त्रालयले सबै सरकारी तथा निजी अस्पतालहरुमा भएका आइसोलेसन, एचडीयु, आइसीयु तथा भेन्टिलेटर बेड र अक्सिजनको अवस्थाबारे अपडेट लिइरहेको उनले जानकारी दिए।
उनका अनुसार हाल देशभर ८ हजार २०२ वटा आइसोलेसन बेड, ३ हजार ८४६ वटा एचडीयु, २७९७ आइसीयु र १ हजार ८ वटा भेन्टिलेटर सहितको बेडहरु रहेको छ।
ती मध्ये काठमाडौं उपत्यकामा मात्र २ हजार ४९४ आइसोलेसन, ३२४ वटा एचडीयु, ४४५ वटा आइसीयु र २५४ वटा भेन्टिलेटर रहेको डा अधिकारीको भनाइ छ।
यी बेडहरु देशभरका सरकारी तथा निजी अस्पतालहरु दुवैको मिश्रित तथ्यांक भएको र हाल कोभिड र ननकोभिड दुवै खालका बिरामीको उपचारमा प्रयोगमै रहेको डा अधिकारीले जानकारी दिए।
कोरोना महामारीपछि अस्पतालहरुमा अक्सिजनको आवश्यकता बढेपछि सरकारले सिलिण्डर अक्सिजन, कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक पनि थप गरेको छ।
डा अधिकारीका अनुसार हाल देशभर १३ हजार ९३९ वटा अक्सिजन सिलिण्डर, ६९३ अक्सिजन कन्सन्ट्रेटर, १०७ अक्सिजन प्लान्ट र २५ वटा अक्सिजन ट्यांक रहेको छ।
बेड तथा अक्सिजनको अवस्था कुन प्रदेशमा कस्तो ?
संक्रमणदर बढ्दै गए भएका स्रोत साधनले धान्न नसक्ने भन्दै उनले संक्रमणदर कम गर्न जनस्वास्थ्यको मापदण्ड तथा सरकारले बनाएका नियमहरु पालना गर्न जरुरी रहेको बताए।
‘संक्रमणको अवस्था भयावह भएपछि त सबै स्रोत साधान भएका देशहरुले पनि धान्न नसकेको विगत हामीले देखेका छौं भोगेका छौं,’ डा अधिकारीले भने, ‘हामीले संक्रमितको स्वास्थ्य उपचारका लागि अस्पतालहरुमा पूर्वतयारी गरेका छौं, तर सकेसम्म संक्रमणदर बढ्दै नदिन जनस्वास्थ्यका मापदण्ड तथा सरकारका नियमलाई सबैले मान्न जरुरी छ।’