काठमाडौं– कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध संक्रामक रोग विशेषज्ञ प्राडा जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई संक्रमित बनाउने बताए। उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा संक्रमण सार्ने गर्दछ।
‘संक्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म संक्रमित बनाउने गर्दथ्यो,’ उनले भने, ‘तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई संक्रमित गराउने गर्दछ। त्यसैले यो द्रुत गतिमा फैलिन्छ।’
हात नियमित धुने, भीडभाड नभएका ठाउँमा जाने, मास्क राम्रोसँग लगाउने हो भने संक्रमणबाट बच्न सकिन्छ। यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनुपर्ने उनको भनाइ छ।।
ओमिक्रोन संक्रमण मानिसमा रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलिमा इन्फेक्सन (असर) हुने उनले बताए। ‘संक्रमण नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ । जबकि डेल्टा भाइरस सिधै फोक्सोमा असर गर्दथ्यो,’ संक्रामक रोग विशेषज्ञ डा कोइरालाले भने, ‘ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिधै संक्रमण गरेर निमोनिया बनाउने कम गर्दछ।’