विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका छन्।
मुख्यमन्त्री राईले आज विराटनगर सीमा क्षेत्र रानी र होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण पश्चात चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन निर्देशनसमेत दिए। जुटमिलभित्र प्रदेश सरकारको लगानीमा नेपाली सेनाको नेतृत्वमा निर्माणाधीन एक हजार शय्यामध्ये तत्काल चार दिनभित्र १०० र आगामी १५ दिनभित्रमा २०० शैयया सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनले होल्डिङ सेन्टरमा विद्युत् र पानीको व्यवस्था गरी शौचालयको व्यवस्था गर्न निर्देशन दिए। कोरोना नियन्त्रण तथा समुदायमा सङ्क्रमण फैलिन नदिन अविलम्ब कदम चाल्नुपर्ने उनले आवश्यक्ता औँल्याए। मुख्यमन्त्री राइले होल्डिङ सेन्टर निर्माण गर्नका लागि रकमको अभाव हुन नदिने प्रष्ट पार्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर रहेको उल्लेख गरे।