काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रण र रोकथाममा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
शनिबार बालुवाटारमा नेकपा एमालेको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
‘सरकारले आफ्नो कोसिस गरिरहेको छ। अहिले नयाँ भेरियन्ट जुन आएको छ त्यो छिटो फैलिरहेको छ। सीमा नाका नियन्त्रण लगायत सुरक्षाका आवश्यक प्रबन्ध अपनाउन हामी लागि रहेका छौं,’ उनले भने, ‘खोपलाई प्रभावकारी बनाउका लागि सरकार लागि रहेको छ।’
उनले सरकारले गर्नुपर्ने काममा कुनै कमी नहुने भन्दै जनतालाई पनि कोभिड १९ को संक्रमणबाट बच्नका लागि सचेतना फैलाउने देखि सबै सचेत हुनुपर्ने बताए।
‘संक्रमण फैलिन नदिन रोकथामका सबै उपाय अवलम्बन गर्नु आवश्यक छ। त्यो सरकारले गरिरहेको छ,’ उनले भने, ‘जनताको जीवन बचाउने महत्वपूर्ण पक्ष हो। त्यसमा सरकार सबै दलले पनि भूमिका खेल्नुपर्छ।’
कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी बनाउन विषयमा सरकारको ध्यानाकर्षण गराएकोमा एमालेलाई धन्यवाद दिदै प्रधानमन्त्री देउवाले सरकार गम्भीर भएर लागि रहेको बताएका हुन्।