काठमाडौं– नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडालगायत सहायता सामग्री पठाएको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए।
नेपालले हिमालय एयरलाइन्सको जहाजमार्फत आवश्यक सामग्री अफगानिस्तान पठाएको छ। नेपालले औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको हो। जहाज अबको करिब साढे ३ घन्टाभित्र काबुलस्थित विमानस्थलमा पुग्ने जनाइएको छ।
प्राकृतिक प्रकोपमा नेपाल परेका बेला विभिन्न देशबाट सहयोग लिएको स्मरण गर्दै उनले नेपालले पनि परेका बेला सहयोग गर्न सक्ने बताए।
जहाज काबुलमा अवतरण गरेपछि संयुक्त राष्ट्रसंघको गाडीमार्फत सामग्री लगेर हस्तान्तरण गरिने मन्त्री खड्काले बताए। औषधिलगायत सामग्री बोकेको जहाजमा नेपालका तर्फबाट मन्त्रालयकी सहसचिव सेवा लम्साल, मन्त्रालयका कर्मचारी, उद्योगी तथा व्यवसायीहरू र पत्रकारहरू सहभागी छन्।
केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएपछि नेपालले सहयोग गरेको हो।
तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ। चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन्।