स्याङ्जा- स्याङ्जाको वालिङमा मिर्गौलाका बिरामीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा आएको छ। रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो।
डायलासिस सेन्टर सञ्चालनमा आएसँगै वालिङ तथा आसपासका पर्वत, गुल्मी, पाल्पा जिल्लाका केही भेगका मिर्गौलाका बिरामीलाई सहजता हुनेभएको छ। गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा सञ्चालनमा आएको सेन्टरमा आठ वटा मेसिनबाट डायलासिसको काम सुरु गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले बताए।
उनका अनुसार हाल आठवटा मेसिन राखेर सुरु गरिएको डायलासिस गर्ने कार्यलाई बढाएर एघार वटा पु¥याइने छ। मिर्गौलाका बिरामीको उपचारमा सहजताका लागि डायलासिस सेन्टर वालिङमा स्थापना गर्न नगरपालिकाले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए। रासस