काठमाडौं– चीनमा एमबिबिएस अध्ययन गरी कोभिडका कारण इन्टर्नसिप गर्न नपाएका नेपाली विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगमा तालाबन्दी गरेका छन्।
नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका मेडिकल विद्यार्थीहरुले आइतबार आयोगको कार्यालयमा तालाबन्दी गरेका हुन्।
मन्त्रिपरिषद्ले नेपाली विद्यार्थीको व्यवस्थापन गर्न निर्देशन दिएको तीन साता पूरा हुँदा पनि आयोगले कुनै काम नगरेको भन्दै आयोगमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन्।
‘हामी आयोगमा तालाबन्दी गर्न बाध्य भयौं, हामीलाई व्यवस्थापन गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको २१ दिन भइसक्दा पनि आयोगले केही गरेन,’ एक विद्यार्थीले स्वास्थ्यखबरसँग भने।
मन्त्रिपरिषद्को निर्णयपछि आफूहरुको विषयमा आयोगले के गर्दैछ भन्ने प्रश्न लिएर आयोगका उपाध्यक्ष डा गिरी कहाँ जाँदा उनले कुनै जवाफ नदिएको ती विद्यार्थीले जानकारी दिए।
डा गिरीले आफूहरुको समस्यालाई बेवास्ता गरेपछि आयोगमा ताला लगाएको ती विद्यार्थीको भनाइ छ।
विद्यार्थीले डा गिरीलाई कार्यालय भित्रै राखेर ताला लगाएपछि प्रहरीले विद्यार्थीमाथि बल प्रयोग गरेर तालाबन्दी खुलाएको छ।
विद्यार्थीहरुले नाराबाजी गर्दै तालाबन्दीमा पारेपछि डा गिरी प्रहरीको 'स्कर्टिङ'मा आयोगबाट बाहिरिएका छन्।