काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा तोकिएकै मितिमा हुने जनाएको छ।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा आयोगले यसअघि तोकेकै मितिमा हुने जानकारी दिए।
आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि माघ ८ देखि १० गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको थियो। सोही समयमा डेन्टल तर्फको लोक सेवा आयोगको परीक्षा परेकाले नेपाल चिकित्सक संघ लगायत चिकित्सकहरुले परीक्षाको मिति सार्न आग्रह गरेका थिए।
तर आयोगले भने लोक सेवाको परीक्षा पर्ने भएकै कारण आयोगले तोकेको परीक्षाको मिति नसर्ने जनाएको छ।
डा गिरीले भने, ‘हाम्रो परीक्षा सर्दैन, अन्य कारण केही भयो भने मात्रै तर लोक सेवाकै परीक्षाका कारण आयोगको परीक्षा सर्दैन।’
आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै परीक्षामा सहभागि हुन आवेदन स्वीकृत भएका विद्यार्थीहरुका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गनुपर्ने जनाएको छ।
परीक्षार्थीले परीक्षा सुरु हुने समयको ७२ घण्टा भित्र गरिएको कोभिड पिसिआर वा एन्टिजेट टेस्टको रिपोर्ट वा दुई मात्रा कोभिड विरुद्धको खोप लगाएको खोप कार्डको प्रतिलिपी सम्बन्धित परीक्षा केन्द्रमा पेश गर्नुपर्ने नियम बनाएको छ।
पिसिआर तथा एन्टिजेन पोजिटिभ आएमा अलग्गै कोठामा राखी परीक्षा दिन पाउने व्यवस्था गरिएकाले रिपोर्ट आयोगको इमेलमा बनाउन पनि आयोगले सूचीत गरेको छ। त्यसका लागि परीक्षार्थीले आफ्नो नाम, शैक्षिक कार्यक्रम, रोल नम्बर र परीक्षा केन्द्र परीक्षाको अघिल्लो दिन कार्यालय समयभित्र उपलब्ध गराउनुपर्ने छ।