काठमाडौं– नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० जनालाई मास्क वितरण गरेको छ। प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई?’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई मास्क वितरण गरेको जनाएको छ।
कोरोनाबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित गत वैशाखदेखि अभियान सञ्चालन गरेको थियो।
वैशाख ६ गतेदेखि सञ्चालन भएको उक्त अभियानअन्तर्गत हाल देशभर १४ लाख ७९ हजार ५६५ लाई निःशुल्क मास्क वितरण गरिसकेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ।
मास्क वितरण अभियानबाहेक प्रहरीले देशभर माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको सचेतनामूलक कार्यक्रमसमेत गरिरहेको छ।