काठमाडौं- कोभिड–१९ संक्रमितको दर उकालो लाग्दै गर्दा सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ। जसका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झासहित निजी प्रयोगशालाका प्रतिनिधि पनि छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार बनाएको छ। तर, निजी क्षेत्रमा भने पीसीआर शुल्कमा एकरुपता छैन। सरकारले निजी क्षेत्रमा पनि एक हजारमै पीसीआर गर्ने व्यवस्था गर्न तयारी थालेको छ।
सरकारले सुरुको समयमा ५५ सय तोकिएको पिसीआरको मूल्य दास्रो पटक घटाएर ४४ सय बनाएको थियो। त्यसपछि पुनः २०७७ भदौ २८ गतेबाट २ हजार पिसीआरको मूल्य तोकिएकोमा हाल सरकारी प्रयोगशालामा एक हजार रुपैयामा पीसीआर गरिन्छ भने निजीले १५ सय देखि २ हजार सम्म लिने गरेका छन्।
सुरुका समयमा ५५ सय मूल्य तोकेको बेलामा पनि निजी अस्पतालले पिसीआर परीक्षणको ७ हजारभन्दा बढि शुल्क लिने गरेका थिए। अहिले पनि २ हजार पिसीआरको मूल्य तोकिए पनि निजी अस्पताहरुले सेवा शुल्कका नाममा थप रकम लिने गरेका छन्।