काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
ट्रमा सेन्टरका चिकित्सक, नर्स लगायत ५२ जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले जानकारी दिए।
डा जोशीका अनुसार सोमबार ४ बजेसम्ममा एमसिएच गर्ने सिनियर चिकित्सक, कन्सलटेन्ट चिकित्सक, अन्य चिकित्सकहरु, नर्स तथा फिजियोथेरापीस्ट, ल्याबका कर्मचारी लगायत ५२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
ट्रमाको आइसीयू युनिटका ७ जना, ल्याबका ७ जना, फिजियोका ६ जना, वार्डहरुमा कार्यरत १० जना लगायत प्रशासन र अन्य विभागका गरी हालसम्म संक्रमितको संख्या ५२ पुगेको डा जोशीले जानकारी दिए।
उनीहरु कोरोना संक्रमित भएपछि बिदामा रहेकाले अस्पतालको सेवा प्रभावित भएको डा जोशीको भनाइ छ।
५० भन्दा बढी कर्मचारी एकैपटक संक्रमित भएपछि सोमबार सबै युनिटका प्रमुखहरु, सिनियर चिकित्सक, नर्स लगायतसँग बैठक बसिएको डा जोशीको भनाइ छ।
कर्मचारीहरु संक्रमण हुने क्रम बढ्दै गइरहेको अवस्थामा अस्पतालले कसरी सेवा सञ्चालन गर्ने लगायतका विषयमा छलफल गरिएको उनले जानकारी दिए।
उनले भने, ‘धेरै स्वास्थ्यकर्मी संक्रमित भएपछि हामीले संस्था भित्र बसेर गर्ने काम केके बाहिरबाट बसेर गर्ने काम केके हुन्? मन्त्रालयसँग कस्ता कुरामा समन्वय गर्ने भनेर वर्गिकरण गरेका छौं।’
उनले आगामी दिनमा स्वास्थ्य सेवा प्रवाह गर्न जनशक्ति व्यवस्थापनमा चुनौति बढेको बताए।
‘एकैपटक ५२ जना स्वास्थ्यकर्मी, चिकित्सकमा संक्रमण देखिएपछि त अब हामीलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने अवस्था भएन,’ डा जोशीले भने, ‘संक्रमित हुने क्रम जारी भएकाले हामी शशंकित छौं। यसलाई कसरी व्यवस्थापन गर्ने भनेर नै बैठक बस्यौ।’
डा जोशीका अनुसार अस्पतालको सेवामा हाललाई अप्रेसन सेवामा रुटिनका केशहरुलाई भन्दा आकस्मिक केसलाई बढी प्राथमिकता दिने र रुटिनका केशहरुरुलाई कम गर्ने निर्णय गरिएको छ। कोरोना संक्रमण बढेसँगै अस्पतालमा सेवा लिने बिरामीको चाप पनि कम भएको उनले बताए।
यस्तै, वार्डहरुलाई पनि मर्ज गरेर स्वास्थ्यकर्मीलाई पालैपालो ड्युटीमा लगाउने तयारी भइरहकेको डा जोशीले बताए।
कोरोना संक्रमणको बढी जोखिम हुने क्षेत्रमा बिरामीको परीक्षण गर्दा पीपीई प्रयोग गर्ने र स्वास्थ्य परामर्शका लागि मात्र अस्पताल आउने बिरामीलाई फोन मार्फत परामर्श दिने तयारी गरिएको छ।
ट्रमा सेन्टरले कोरोना संक्रमणदर बढ्दै गएकाले सोमबार नै कोभिड रेस्पोन्स कमिटी समेत गठन गरिएको छ। हालसम्म संक्रमित भएका स्वास्थ्यकर्मीसँग सम्पर्कमै रहेको जानकारी दिदैं डा जोशीले स्वास्थ्यकर्मीको अवस्था भने सामान्य नै रहेको बताए।