काठमाडौं- नेपालका ६१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पुर्णमात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारसम्म ७९.५ प्रतिशतले पहिलो मात्रा र करिब ६१ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।
सरकारले पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको थियो। दुई तिहाइ ६६ प्रतिशतमध्ये पहिलो मात्रा लक्ष्य भन्दाबढी अर्थात् ७९.५ प्रतिशत हो भने पूर्ण मात्रा पनि लक्ष्यको नजिक पुगेको छ। अहिलेसम्मको तथ्याङ्क हेर्दा मनाङ, मुस्ताङ र कास्कीमा शतप्रतिशत खोप दिइएको छ।
सरकारले पुस मसान्तभित्र लक्ष्य जनसङ्ख्याको दुई तिहाइ र आगामी चैत मसान्तसम्म १६ वर्ष माथिका सबैलाई खोप लगाउने लक्ष्य लिएको छ। यता सरकारले अग्रपङ्क्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन थालेको छ। यस्तै माघ १४ गतेदेखि ६० बर्षभन्दा माथिका सवै ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिने भएको हो।
