काठमाडौं- कोरोना भाइरसको संक्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन। कोरोनाको सङ्क्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा जोखिम बढ्न थालेको छ। आइतबार पाँच हजारभन्दा कममा कोरोना सङ्क्रमण देखिएकामा आज भने छ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
प्रत्येक दिन भाइरस सङ्क्रमण हुनेको सङ्ख्या बढ्दै गएको छ। पशुपतिनाथ मन्दिरमा भीड बढ्न थालेपछि कसरी सुरक्षित रुपमा दर्शन गराउने भन्ने विषयमा छलफल भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। “संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशनासुर पशुपति क्षेत्रको व्यवस्थापन गर्ने तयारीमा छौँ, अहिले भीड बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र मन्दिर प्रवेश गराएका छौँ”, उनले भने।
पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन। कार्यभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा विभिन्न मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सरकारले तोकेको २५ जनाभन्दा बढीको सहभागिता देखिएको छ। सार्वजनिक यातायातमा सिट क्षमता मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन।