दमौली- सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ। गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो।
सघन कक्ष भवनको माथिल्लो तलामा गत आर्थिक वर्षमा ट्रष्ट निर्माणको कार्य थालिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकिएकोले यसवर्ष पुनः गण्डकी प्रदेश सरकार समक्ष बजेट माग गरिएको सूचना अधिकारी डा दिवस ढकालले जानकारी दिए।
करिब रु दश लाख बजेट आवश्यक पर्ने देखिएको छ। उनले भने, “ट्रष्ट निर्माण पश्चात अझै शय्या क्षमता वृद्धि गर्न सकिनेछ।” दमौली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको रहेको उनले बताए।
अस्पतालका सघन कक्षमा बिरामीको सङ्ख्या शून्य रहेका कारण सबै शय्या खाली रहेको सो अस्पतालले जनाएको छ। जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या उकालो चढ्दै गरेको अवस्थामा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शय्या क्षमता वृद्वि गर्न लागिएको उनले बताए। रासस