काठमाडौ- पछिल्लो समय नेपालमा स्वास्थ्य क्षेत्रमा व्यापक मात्रामा सुधार हुँदा नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवाहरू उपलब्ध हुन थालेका छन्। पहिले नेपालमा सम्भव नहुने जटिल मानिएका शल्यक्रिया पनि सफल बन्दै जान थालेका छन्। त्रिवि शिक्षण अस्पताल महारागञ्जमा जटिल खालको शल्यक्रिया (ह्याण्ड रिप्लान्ट) पद्धतीबाट सफलतापुर्वक सम्पन्न भएको छ। बाँसबारीका २४ वर्षीय सुजन तामाङको चुँडिएको हातलाई जटिल शल्यक्रिया (ह्याण्ड रिप्लान्ट) मार्फत जोडिएको छ।
तामाङको फर्निचर उधोगमा काठ चिर्ने क्रममा मेसीनमा परेर हात चुँडिएको थियो। उनको बाँया हात नाडी नजिकैबाट चुँडिएको थियो। १४ घण्टा लामो शल्यक्रियापछि चुडिएको हात जोड्न सफल भएको त्रिवि शिक्षण अस्पताल प्लाष्टिक सर्जरी रेजिडेन्ट चिकित्सक डा सुशान्त राईले जानकारी दिए।
शल्यक्रियामा क्रममा ५ देखि ६ वटा रगत बग्ने नसा, २ देखि ३ वटा थाहा हुने नसा, २५ देखि ३० वटा हात चलाउने नसा जोडिएको डा राइले बताए। ‘निकै जटिल खालको शल्यक्रिया भएकोले धेरै नसाहरु जोड्नुपर्ने थियो,’ उनले भने, ‘यस्ता केसहरु कमै हुने गर्दछन्।’
'ह्याण्ड रिप्लान्ट’ भनिने उक्त शल्यक्रिया निकै जटिल खालकाे हुने र यस्ता बिरामीहरुलाई जति चाँडो अस्पताल ल्याउन सकियो उपचार पनि उति नै प्रभावकारी हुने डा राइले बताए। दुर्घटना हुनासाथ अस्पताल लगेको खण्डमा यसरी अंग चुँडिएको अवस्थामा रिप्लान्ट पद्धती अपनाएर साधारण अवस्थामा फर्कन सक्ने र रिप्लान्टका माध्यमबाट धेरै मानिस लाभान्वित हुन सक्ने उनले बताए।
तामाङको शल्यक्रिया त्रिविको प्लास्टिक सर्जरी विभाग प्रा डा ईश्वर लोहनी, प्रा डा जयनमान श्रेष्ठको सुपरभिजनमा भएको हो। उक्त शल्यक्रियामा प्रत्यक्ष रुपमा अर्थोप्लास्टिक सर्जन डा समित शर्मा र डा संगम रायमाझीकाे संलग्नता थियाे। त्यस्तै रेजिडेन्ट डा सुशान्त राई, डा रोहन प्रधान र डा प्रकाश मैनाली पनि संलग्न रहेका थिए। त्यस्तै एनेस्थेसियामा डा नवीन्द्रराज विष्टसहितको टिम संलग्न थियो भने अर्थोपेडिक्सतर्फ डा नितिशविक्रम देवसहितको टिम संलग्न थियो।