काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ नियन्त्रणका लागि जारी गरेको आदेश नमान्ने पैदलयात्रीदेखि भाटभटेनी सुपरमार्केटसम्मलाई कारबाही गरेको छ। प्रशासनले बुधबारदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको पहिलो दिन नै १५२ जनासहित तीन वटा व्यापारिक केन्द्रलाई कारबाही गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।
प्रजिअ शर्माको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले आज भक्तपुर र काभ्रेको सीमा नाका साँगा, सूर्यविनायक, सम्पदास्थल भक्तपुरको तौमढी, सार्वजनिक यातायातका साधन र मध्यपुरथिमिस्थित भाटभटेनी सुपर मार्केटलगायतको अनुगमन गरेको थियो।
सो क्रममा मास्क नलगाई हिँड्ने १५२ जनालाई १ सय रुपैयाँका दरले जरिवाना गरिएको थियो। आदेशविपरीत कार्य गरेकाले भाटभटेनी सुपर मार्केटलाई सचेतनास्वरूप पहिलो पटकका लागि सय रुपैयाँ जरिवाना गरिएको बताउँदै प्रजिअ शर्माले पुनः अटेर गरे थप कारबाही गरिने बताइन्।
उक्त सुपरमार्केटले आदेशविपरीत २५ जनाभन्दा बढी व्यक्तिलाई भित्र पठाएको, भित्रबाट कति समयमा बाहिर निस्कने हो, समय निर्धारण नगरेको, सन्देशमूलक सूचना नबजाएको, आदेशको कार्यान्वयन नगरेको पाइएपछि कारबाही गरिएको हो।
सवारी साधनको अनुगमन गर्ने क्रममा सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, कतिपय यात्रुले मास्क नलगाएको, कतिपय चालक, सहचालकले लापरवाही गरेको पाइएपछि गाडीमा मास्क र सेनिटाइजर राख्न निर्देशन दिएको उनले बताइन्।
सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु भेटिए चालकलाई १०० देखि ६०० रुपैयाँसम्म जरिवाना गराउने भन्दै मास्क अनिवार्य गर्न प्रजिअ शर्मा आफैँ बसमा चढेर यात्रुलाई मास्क लगाउन र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेकी थिइन्।