काठमाडौं- राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी भएको छ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो। आयोगले बिहीबार विज्ञप्तिमार्फत कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएकोले स्वास्थ्य मापदण्ड लागू गरेको हो। यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।
निर्वाचनमा मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ। मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ।
निर्वाचनका लागि सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचनमण्डलका सदस्य हुने हुँदा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि निज मतदाता पिसीआर परीक्षणका लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयले गर्नु पर्नेछ।
आयोगका अनुसार निर्धारण गरेको मापदण्डसमेतका आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदानस्थल तथा केन्द्रको अवस्था हेरी आवश्यकतानुसार स्वास्थ्य, सुरक्षासम्बन्धी व्यवस्था गर्ने छन्। मतदान केन्द्रमा अनिवार्यरूपमा आवश्यक मात्रामा मास्क, स्यानिटाइजर, टिस्यु पेपर, साबुनपानी तथा फोहर राख्ने टोकरीको व्यवस्था हुनेछ। प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुअघि तापक्रम जाँच गर्नुपर्नेछ।
तापक्रम जाँच गर्दा मतदान केन्द्रमा खटिने स्वास्थ्यकर्मीले प्रत्येक मतदातालाई पछिल्लो १४ दिनयता ज्वरो वा रुघाखोकी वा अन्य कोभिड–१९ को लक्षण देखिएको छ–छैन बुझी मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड–१९ सङ्क्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाइनेछ।
मतपत्र दिने कर्मचारीले मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउन तथा मतदाताले ल्याप्चे लगाउने भएमा ल्याप्चे लगाइसकेपछि टिस्यु पेपरले हात सफा गरी उक्त टिस्यु पेपरलाई फोहर टोकरीमा हाल्नुपर्नेछ।
यस्ता छन् स्वास्थ्य सुरक्षा मापदण्ड