काठमाडौ- त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले माघ मसान्तसम्म लिने भनेका लिखित परीक्षा स्थगित भएका छन्। कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको हो।
आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो। संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन्।
‘लोक सेवा आयोगमा कार्यरत कर्मचारीहरूमा कोभिड १९ को संक्रमण देखा परेको कारणले आगामी २०७८ माघ ११ गतेदेखि २०७८ माघ मसान्तसम्म आयोगबाट सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम हाललाई स्थगित गरिएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यता त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो।
शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहने छन।