काठमाडौं– चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको विषय बाहिर आएपछि चिकित्सा शिक्षा आयोगले अनुसन्धान सुरु गरेको छ।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले नक्कली परीक्षार्थी पिजी परीक्षामा सामेल हुन लागेको जानकारी पाएपछि सो विषयमा आयोगले अनुसन्धान सुरु गरेको बताए।
उनले भने, ‘यो विषयमा जानकारी पाएसँगै हामीले अनुसन्धान सुरु गरिसकेका छौं।’
नक्कली परीक्षार्थी परीक्षामा सामेल हुन लागेको जानकारी पाएसँगै आयोगले प्रवेश परीक्षामा सहभागि हुनेको बायोमेट्री लिने तयारी समेत गरेको डा गिरीले बताए।
तर परीक्षा भने नरोकिने डा गिरीले जानकारी दिए।
डा गिरीले भने, ‘अब बायोमेट्री हुन्छ, परीक्षा पनि तोकिएकै मितिमा हुन्छ सर्दैन।’
आयोगले पिजी प्रवेश परीक्षाको मिति माघ ८ देखि १० गतेसम्म तय गरको थियो।
पिजी प्रवेश परीक्षा भोलि शनिबारदेखि सुरु हुदै छ। प्रवेश परीक्षाका लागि आयोगले काठमाडौं उपत्यका सहित देशका अन्य चार स्थानका ३९ परीक्षा केन्द्र तोकेको छ।
यसैबीच आयोगले विज्ञप्ति सार्वजनिक गर्दै परीक्षा नसर्ने र परीक्षार्थी र परीक्षाका विषयमा उठेका प्रश्नको छानबिनका लागि प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ।
आयोगले सम्पादन गर्ने कार्य, परीक्षा र परीक्षाको गोपनियता लगायतका विषयमा विभिन्न किसिमका भ्रम उत्पन्न हुने गरी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा अनग्रल प्रचार प्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण समेत गरेको छ।
