काठमाडौं- सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा सुविधा दिने भएको छ। अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा खोपको प्रकृति अनुसार दुई डोज वा एक डोज लगाएकालाई अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन्।
विदेशी पर्यटकले खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुकिङ गरेको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने भएका छन्।
खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरिने छ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नु पर्नेछ । नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ।
हेर्नुहोस् अध्यागमन विभागको सूचनाः