काठमाडौं- डाक्टर नै नभए पनि आफूलाई डाक्टर भन्दै उपचार सेवा दिइरहेका नक्कली डाक्टर नेपालमा धेरै नै भेटिएका छन्। डाक्टर मात्र होइन नेपालमा नर्स पनि नक्कली फेला पर्न थालेका छन्।
नेपाल नर्सिङ काउन्सिलले यस्तै एक जना नर्सलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलले लाइसेन्स जारी भएको साढे सात वर्षपछि एक जना नर्स नक्कली भएको फेला पारेको हो।
काउन्सिलको लाइसेन्स पुन दर्ताका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा काउन्सिलले उनले अर्कैको नाममा रहेको दर्ता नम्बर लिएको पत्ता लगाएको हो। चौधरीले अर्कैको लाइसेन्स नम्बर आफ्नो बनाई दुरुपयोग गरेको फेला परेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको छ।
काउन्सिलका अनुसार शम्भुनाथ नगरपालिका ६ सप्तरीकी रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा नर्सको लाइसेन्स लिएको भन्दै काउन्सिलमा पुन: नाम दर्ता अर्थात नविकरणका लागि कागजपत्र पेश गरेकी थिइन्। चौधरीले आफ्नो लाइसेन्स नम्बर २६४६८ रहेको विवरण काउन्सिलमा पेश गरेकी थिइन्।
काउन्सिलले उनको नविकरणको प्रक्रिया अगाडि बढाउने क्रममा उक्त नम्बरमा अर्कैको नाम रहेको पत्ता लगायो।त्यसपछि आवश्यक कागजपत्र अध्ययन गर्दा चौधरीले अर्कैको नम्बर राखेको पत्ता लागेको काउन्सिलले जनाएको छ।
चौधरी नक्कली नर्स भएको पत्ता लागेपछि काउन्सिलले सार्वजनिक सूचना निकाल्दै उनी दर्तावाल नर्स नभएको र कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
