काठमाडौं- प्रमुख विपक्षी नेकपा एमालेले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त काम गर्न नसकेको भन्दै प्रश्न उठाएको छ। अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण, खोप तथा स्वास्थ्य क्षेत्रको बजेट कटौतीका सन्दर्भमा प्रश्न उठाउँदै जनताको जिवन रक्षाका लागि सरकार उदासिन भएको आरोप लगाएका छन्।
एमालेले २४ लाखभन्दा बढी खोप हराएको,अहिले पनि हजारौं नागरिक अझै खोपबाट बञ्चित रहेको भन्दै कोरोना महामारीको नियन्त्रणमा सरकार गैरजिम्मेवार देखिएको बताएको छ। २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप? कसले लुकायो वा बेच्यो? यसका लागि को जिम्मेवार छ?‘
एमालेले सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य गर्नु हास्यास्पद र विदेभकारी कदम भएको बताएको छ। सरकारले पुस मसान्तभित्र दुई तिहाई र चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेपछि हालसम्म ४० प्रतिशतले मात्र लगाएको एमालेको दाबी छ।
अघिल्लो सरकारले व्यवस्था गरिदिएको खोपको आपूर्ति, व्यवस्थापना, भण्डारणमा समेत सरकार असक्षम भएको भन्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, 'तुलनात्मक रुपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रमा खोप लगाउन नसकिरहेको बेला सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ।’
ओलीले आफ्नो नेतृत्वको अघिल्लो सरकारले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण अघि बढाएको र, त्यसका लागि ६ अर्ब १५ करोड बजेट विनियोजन गरेकोमा अहिलेको सरकारले १ अर्ब ५० करोड कटौती गरेका छन्।